Showing posts with label सरोकार-सम्बन्ध. Show all posts
Showing posts with label सरोकार-सम्बन्ध. Show all posts

Saturday, February 14, 2009

यस्तो एउटा सिर्जनात्मक विवाह...

Saturday, February 14, 2009 0
विविधताले भरिएको हाम्रो नेपाली समाज । थरीथरी जातजाति । थरीथरी रिवाज र संस्कार । कतिपय नराम्रो संस्कार र कुरीति पनि जिउँदो-जाग्दो भएर हामीमाझमै बसेका छन्, त्यत्तिकै राम्रा थितिहरू पनि कति ओझेलमा परेका छन् त कति नासिएर गइसके । जन्मसंस्कारदेखि मृत्युसंस्कारसम्ममा मानवसमाजको आफ्नै निश्‍चित मापदण्ड रहिआएको छ । त्यसमध्ये जीवनमा गर्नैपर्ने कर्मकाण्डमा विवाहलाई लिने गरिन्छ । वैवाहिक संस्कार हाम्रो मुलुकमा जातजातिपिच्छे फरक किसिमबाट पूरा गरिन्छ । परम्परागत प्रचलन पनि आधुनिक समयमा आएर थोरै तोडमरोड हुँदै मनाइन थालिएको छ ।
चलनचल्तीको वैवाहिक उत्सवको परम्परालाई तोडेर रचनात्मक तवरले लगनगाँठो गाँस्ने जोडीहरू पछिल्लो समयमा निकै देखिएका छन् । यस्तै सिर्जनात्मक विवाह गर्ने जोडीमा पछिल्लो उदाहरण बनेका छन् शनिश्चरे मोरङका घनेन्द्र ओझा र छत्रेदेउराली धादिङकी राधा कँडेल । दुवैजना गजल विधामा समर्पित साहित्यप्रेमी । जीवनयात्रा गजलमय बनाइराख्न दुवै उत्तिकै रसिक रहँदै आएका छन् । त्यसैले आफ्नो विवाहको प्रीतिभोजमा मङ्सिर २३ गते (डिसेम्बर ८) सोमबार उनीहरूले आफ्नो संयुक्त गजलसङ्ग्रहको विमोचन गरे- 'बाटो अझै छ बाँकी' । कृतिमा दुवैको छानिएका राम्रा गजलसिर्जना समेटिएका छन् । ठूलो सङ्ख्यामा उपस्थित साहित्यप्रेमी तथा आफन्तको बीचमा दुवैले किताबमार्फत साथसाथ जीवनको साउती गरे । चार वर्ष लामो प्रेमसम्बन्ध वैवाहिक नातामा त गाँसियो, यही साइतमा अब उनीहरू भन्दैछन् - सहयात्राको बाटो अझै बाँकी छ है, ल सँगै हिँडौँ... ।
विवाह - दुई आत्माको मिलन । दुई जना भएपछि जस्तोसुकै कुरा पनि समाधान गर्न सकिन्छ भन्ने सोचले धेरैले विवाह गर्ने गर्दछन् । कताकता यो अघोषित सम्झौताको सामाजिक रिवाज जस्तो लाग्छ । अर्थात् अर्कोप्रति भर पर्दै अस्तित्त्वलाई स्विकार्नु । सहज जीवनयापनमा एकअर्काको साथ खोज्दै सामाजिक चक्रलाई निरन्तरता दिन वैवाहिक जोडीहरू अग्रसर हुन्छन् । यसका साथै, परिवारबीचको आत्मिक सम्बन्धकालागि पनि विवाहलाई लिइन्छ । विवाहले सम्बन्ध विस्तारमा धेरै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तर यही विवाहलाई कसैले सम्पत्ति सङ्कलन गर्ने तथा आफ्नो सम्पत्ति प्रदर्शन गर्ने माध्यमका रूपमा पनि लिएका छन् । छोरा-छोरीको विवाह धुमधामले गरेर समाजमा आफ्नो 'ल्याकत' साबित गर्ने होडबाजी पहिलेदेखि नै चलिआएको छ । हुनेखानेले त सम्पत्तिमार्फत शक्तिप्रदर्शन गर्छन्, केही नहुनेले समेत ऋणपान गरेरै भए पनि 'महँगो' विवाह गराउने देखासिकी प्रवृत्ति हाम्रो समाजमा चौपट्टै मौलाएको छ । यस्तो कुसंस्कार हिजोआज कमजोर मानसिकताका मानिसहरूको खेती भएको छ ।
विवाहमा लिएको ऋण तिर्न नसकेर जिन्दगीभरि अरुकोमा काम गर्न बसेका धेरै उदाहरण नेपाली समाजमा अझै पनि छन् । तर अहिले आएर त्यो परम्परामा निकै उतारचढाव आएको छ । सम्पत्तिको प्रदर्शनभन्दा पनि कसरी सिर्जनात्मक अनि सबैलाई सजिलो हुने खालको विवाह गर्ने भन्ने भावनाको पनि विकास भैरहेको छ । यस्तो सोच विशेषतः आजका शिक्षित युवामा झ्याङ्गिदै गएको छ । त्यसैले विवाहका नयाँ-नयाँ शैली अहिले आएर देखिन थालेको छ । सामाजिक चेतना भएका केही मानिसहरूले सुरू गरेका यस्ता विवाह अरूकालागि पनि निकै प्रेरणादायी बनेका छन् ।
यस्ता सिर्जनशील जोडीहरूमा कोही कुनै कल्याणकारी संस्थालाई सहयोग गरेर विवाह गर्दैछन् । कोही प्रीतिभोज नगरी त्यसमा खर्च हुने पैसा सामाजिक समूहलाई दान दिएर सादा तर विशिष्ट मूल्यको विवाह गर्दैछन् । कोही सार्वजनिक चौकमा खुला रूपमा मञ्चमा भाषण गर्दै समाजका गन्यमान्य सदस्यहरूसँग आशीर्वाद लिएर विवाह गरिरहेका छन् । कोही आफ्नो विवाहको लागि घरमा लगाइने रङलाई चोक र चौतारोमा लगाएर समाज सेवायुक्त विवाह गरिरहेका छन् । कोही विवाहमा आशीर्वाद दिन आएका मानिसलाई खुवाइने प्रीतिभोज कुनै अनाथालय वा वृद्धाश्रमका बालबालिका र वृद्धवृद्धाहरूलाई खुवाएर आत्मसन्तुष्टि लिइरहेका छन् । यसरी सामाजिक जिम्मेवारीसँगै आफ्नो पारिवारिक जीवनलाई खुसियाली रूप दिने सिर्जनशील सोचमा आज कुनै कमी छैन ।
मानवीय सम्बन्धमा इन्धनको काम गर्ने आत्मिक प्रेमदेखि साहित्यप्रेमसम्मलाई एउटै बोली 'बाटो अझै छ बाँकी' गजलकिताबबाट पुष्टि गर्ने राधा र घनेन्द्रजस्तै जोडीले समाजमा नयाँ रङ थप्दैछन् । यो रङ सामाजिक शक्तिप्रदर्शनभन्दा बाहिरको रङ त हो नै, यही किरिङमिरिङ जेलिएको समाजलाई रचनात्मकताको छाप छोड्ने रङ पनि हो । छोराको विवाहमा आशीर्वाद दिन पूर्वी नेपालको इटहरीदेखि आउनुभएका घनेन्द्रका आमा-बुबा नै समारोहका प्रमुख अतिथि हुनुहुन्थ्यो । सबैलाई सम्बोधन गर्दै उहाँहरूले संयुक्त रुपमा उक्त संयुक्त गजलसङ्ग्रहको विमोचन गर्नुभयो । गजल विधामा लामो समयदेखि कलम चलाइरहेका रवि प्राञ्जल, देवी नेपाल जस्ता सर्जकले नव वर-वधुलाई आशीर्वाद र शुभ कामना दिँदै उनीहरूको सिर्जनात्मक कामको सराहना पनि गर्नुभयो । ती सिर्जनशील दुलहा-दुलहीलाई नयाँ शैलीको विवाहको लागि बधाईसहित सफल दाम्पत्य जीवनको लागि हाम्रो पनि मुरी मुरी शुभ कामना है !

सम्पादकलाई लेखिकाको पत्र

प्रिय सम्पादक,
लामो समय - झन्डै एक वर्षपछि, तिमीलाई यो पत्र लेख्दै छु । यो एक वर्षको लामो अन्तरालमा पत्र लेख्‍नकालागि प्रयास नगरेको पनि होइन तर समय र परिस्थितिको दासी हामी, हाम्रो वशमा के नै हुन्छ र ? अवरोधका विभिन्न तगारोले हामीलाई घेरिरहेकै हुन्छन् । त्यसैले लामो समयदेखि पत्र लेख्छु भन्दाभन्दै पनि पाइरहेको थिइनँ । तर आज तिम्रो जन्मदिन । तिमी मेरो सम्पादक, अनि म तिम्री लेखिका । तिम्रो जन्मदिनमा केही नलेखूँ ? त्यसैले औँलाहरू नचाउँदैछु, यो कालो किबोर्डमा ।

कसलाई थाहा, अर्को वर्ष तिम्रो जन्मदिनमा यसरी नै पत्र लेख्‍ने मौका मिल्ला या नमिल्ला… ।

आज तिम्रो जन्मदिन, फूलका गुच्छा नदिए पनि शब्दका गुच्छाहरू अवस्य पनि पायौ होला । पक्कै पनि आजको दिनमा तिमीले 'ह्याप्पी बर्थ डे' को भाकासँगै औपचारिकताको बतासमा बहकिएर मैनबत्ती निभाएनौ भन्ने आशा गर्छु । बिहानै दियो भने बालेको हुनुपर्छ, अँध्यारो बाटोलाई उज्यालो पार्न । तिमीलाई थाहा छ, मान्छेको औँसत आयु ६० वर्ष (नेपालको हकमा) मान्ने हो भने तिमीसँग अब ३६ वर्ष मात्र बाँकी छ । तिम्रो जन्मदिनको दिनमा पनि म तिमीप्रति कोमल हुन सकिरहेको छुइनँ । हुन त मैले तिमीलाई सुरुको दिनमा नै पत्रमार्फत माफी मागिसकेँ - म कोमल हृदयको छुइनँ भनेर ।

हरेक वर्ष रुखमा पालुवा पलाउँछन्, तर हरेक वर्ष पातको प्रकृति फरक-फरक हुन्छन् । पात पनि पलाउँछन्, पहेंलिन्छन् र झरेर तिनको ठाउँमा अर्को पात फेरिन्छन् । एउटै बोटमा पलाएका पातहरूमा पनि अनेक भिन्नता पाइन्छन् । हामी त मानिस, विवेक अनि आफ्नो छुट्टै धारणा भएका, हामी सबैबीचमा एकरुपता आउन सक्छ भनेर कसरी भन्न सकिएला र ? पातमा भएका रेशाजस्तै हामीबीचमा विचारको भिन्नता छ । त्यसैले त भिन्न-भिन्न अस्तित्वको विविध सुरमा हामी बाँचिरहेका छौँ, नत्र बाँच्नुको अर्थ नै के ? सबैको जीवनमा एउटा लक्ष्य हुन्छ । तर जाने बाटो र पुग्ने ठाँउ फरक-फरक । नत्र लक्ष्य बनाउनुको अर्थ नै के ?

यसअघिका वर्षमा जस्तै यो वर्ष पनि भदौ २१ गते आजको दिन परेको छ । अर्थात् तिम्रो जन्मदिनको घडी । तर यो भदौ २१ पोहोरको भदौ २१ होइन । त्यो २१ लाई तिमी ल्याउन सक्दैनौ । पोहोरका वर्षले ल्याएका धेरै कुरा तिमीलाई छाडेर गइसकेका छन् । कतिलाई तिमी आफैँले पनि छाडिरहेका छौँ । हेर त, आफ्नो वरपरको वातावरण धेरै परिवर्तन भएको छ । अर्को वर्ष आजको यो वातावरणमा घटबढ अवस्य हुनेछ ।

उमेरसँगै बढेको परिपक्वताले मान्छेका इच्छा, रहर, सोचाइ, जीवनप्रतिको दृष्टिकोण परिर्वतन पारिदिन्छ । हुन त तिमी मेरो सम्पादक, म त मात्र लेखिका । तर नजाने पनि आत्मीयतावश केही भनिहालूँ भन्ने मानवीय स्वाभावबाट टाढा जान नसकेर यति लेख्दैछु । बितेका वर्षलाई अवलोकन गर्दा धेरै दुःख, सुखका उकाली-ओरालीहरू आए होलान् । आफन्तका न्यानो स्पर्शले निधारका पसिना पुछिए होलान् । अनि तिनै आफन्तका पराई बोलीले आँखाका डिलबाट तप्‌तप् अनमोल आँसुका धारा पनि बगे होला । आँसु पुछिदिने हातका पर्खाइमा बसेका आँसु आँखाकै डिलमा सुके पनि होलान् । अनुभवका सम्पत्तिले भकारी निकै भरियो होला ।

चुनौतीसँग जुध्नु नै जीवनको रमाइलो पक्ष हो । सार्थक जीवनको उपमा हो । अनुभवलाई पैसामा किन्न सकिँदैन । आफूले सिकेका कुरा अरुलाई सिकाउन सकिँदैन । मेरी आमाले बताएका कुरा आज यसरी तिमीलाई भन्दैछु । यसलाई जीवनको मूल मन्त्रको रुपमा त लिन नसकिएला, तर पनि जीवनमा उकाली-ओराली गर्ने क्रममा परिआउँदा लौरीको काम भने पक्कै गर्नेछ । मैले पनि त मेरी आमाले सिकाएका यिनै सूत्रमय लौरीले धेरै जँघार तरिसकेँ, आगामी दिनमा पनि यिनै लौरीको सहायताले धेरै काम गर्ने सोच बनाएको छु ।

लामो समयसम्म नलेखेर होला, सोचेजति केही लेख्‍न सकिनँ । मनको उकुसमुकुसलाई औँलाले पढ्नै सकेन जस्तो छ । त्यसैले आजका लागि यति भन्नु नै बुद्धिमानी ठान्दैछु । तिम्रो जन्मदिनमा अरु केही दिनलाई नसके पनि शब्दका केही थुङ्गा दिनेछु भन्ने सोच बनाएको थिएँ त्यो पनि तिमीले अपेक्षा गरेको रूपमा दिन असमर्थ भएँ क्यार । त्यसका लागि क्षमा माग्दै यो पालीका लागि बिदा चाहान्छु । अर्को वर्ष भने पक्कै शब्द अनि औँलाले साथ देलान् कि ?

उही -
तिम्री लेखिका
 
◄Design by Pocket, BlogBulk Blogger Templates ►