Saturday, February 14, 2009

सम्पादकलाई लेखिकाको पत्र

Saturday, February 14, 2009
प्रिय सम्पादक,
लामो समय - झन्डै एक वर्षपछि, तिमीलाई यो पत्र लेख्दै छु । यो एक वर्षको लामो अन्तरालमा पत्र लेख्‍नकालागि प्रयास नगरेको पनि होइन तर समय र परिस्थितिको दासी हामी, हाम्रो वशमा के नै हुन्छ र ? अवरोधका विभिन्न तगारोले हामीलाई घेरिरहेकै हुन्छन् । त्यसैले लामो समयदेखि पत्र लेख्छु भन्दाभन्दै पनि पाइरहेको थिइनँ । तर आज तिम्रो जन्मदिन । तिमी मेरो सम्पादक, अनि म तिम्री लेखिका । तिम्रो जन्मदिनमा केही नलेखूँ ? त्यसैले औँलाहरू नचाउँदैछु, यो कालो किबोर्डमा ।

कसलाई थाहा, अर्को वर्ष तिम्रो जन्मदिनमा यसरी नै पत्र लेख्‍ने मौका मिल्ला या नमिल्ला… ।

आज तिम्रो जन्मदिन, फूलका गुच्छा नदिए पनि शब्दका गुच्छाहरू अवस्य पनि पायौ होला । पक्कै पनि आजको दिनमा तिमीले 'ह्याप्पी बर्थ डे' को भाकासँगै औपचारिकताको बतासमा बहकिएर मैनबत्ती निभाएनौ भन्ने आशा गर्छु । बिहानै दियो भने बालेको हुनुपर्छ, अँध्यारो बाटोलाई उज्यालो पार्न । तिमीलाई थाहा छ, मान्छेको औँसत आयु ६० वर्ष (नेपालको हकमा) मान्ने हो भने तिमीसँग अब ३६ वर्ष मात्र बाँकी छ । तिम्रो जन्मदिनको दिनमा पनि म तिमीप्रति कोमल हुन सकिरहेको छुइनँ । हुन त मैले तिमीलाई सुरुको दिनमा नै पत्रमार्फत माफी मागिसकेँ - म कोमल हृदयको छुइनँ भनेर ।

हरेक वर्ष रुखमा पालुवा पलाउँछन्, तर हरेक वर्ष पातको प्रकृति फरक-फरक हुन्छन् । पात पनि पलाउँछन्, पहेंलिन्छन् र झरेर तिनको ठाउँमा अर्को पात फेरिन्छन् । एउटै बोटमा पलाएका पातहरूमा पनि अनेक भिन्नता पाइन्छन् । हामी त मानिस, विवेक अनि आफ्नो छुट्टै धारणा भएका, हामी सबैबीचमा एकरुपता आउन सक्छ भनेर कसरी भन्न सकिएला र ? पातमा भएका रेशाजस्तै हामीबीचमा विचारको भिन्नता छ । त्यसैले त भिन्न-भिन्न अस्तित्वको विविध सुरमा हामी बाँचिरहेका छौँ, नत्र बाँच्नुको अर्थ नै के ? सबैको जीवनमा एउटा लक्ष्य हुन्छ । तर जाने बाटो र पुग्ने ठाँउ फरक-फरक । नत्र लक्ष्य बनाउनुको अर्थ नै के ?

यसअघिका वर्षमा जस्तै यो वर्ष पनि भदौ २१ गते आजको दिन परेको छ । अर्थात् तिम्रो जन्मदिनको घडी । तर यो भदौ २१ पोहोरको भदौ २१ होइन । त्यो २१ लाई तिमी ल्याउन सक्दैनौ । पोहोरका वर्षले ल्याएका धेरै कुरा तिमीलाई छाडेर गइसकेका छन् । कतिलाई तिमी आफैँले पनि छाडिरहेका छौँ । हेर त, आफ्नो वरपरको वातावरण धेरै परिवर्तन भएको छ । अर्को वर्ष आजको यो वातावरणमा घटबढ अवस्य हुनेछ ।

उमेरसँगै बढेको परिपक्वताले मान्छेका इच्छा, रहर, सोचाइ, जीवनप्रतिको दृष्टिकोण परिर्वतन पारिदिन्छ । हुन त तिमी मेरो सम्पादक, म त मात्र लेखिका । तर नजाने पनि आत्मीयतावश केही भनिहालूँ भन्ने मानवीय स्वाभावबाट टाढा जान नसकेर यति लेख्दैछु । बितेका वर्षलाई अवलोकन गर्दा धेरै दुःख, सुखका उकाली-ओरालीहरू आए होलान् । आफन्तका न्यानो स्पर्शले निधारका पसिना पुछिए होलान् । अनि तिनै आफन्तका पराई बोलीले आँखाका डिलबाट तप्‌तप् अनमोल आँसुका धारा पनि बगे होला । आँसु पुछिदिने हातका पर्खाइमा बसेका आँसु आँखाकै डिलमा सुके पनि होलान् । अनुभवका सम्पत्तिले भकारी निकै भरियो होला ।

चुनौतीसँग जुध्नु नै जीवनको रमाइलो पक्ष हो । सार्थक जीवनको उपमा हो । अनुभवलाई पैसामा किन्न सकिँदैन । आफूले सिकेका कुरा अरुलाई सिकाउन सकिँदैन । मेरी आमाले बताएका कुरा आज यसरी तिमीलाई भन्दैछु । यसलाई जीवनको मूल मन्त्रको रुपमा त लिन नसकिएला, तर पनि जीवनमा उकाली-ओराली गर्ने क्रममा परिआउँदा लौरीको काम भने पक्कै गर्नेछ । मैले पनि त मेरी आमाले सिकाएका यिनै सूत्रमय लौरीले धेरै जँघार तरिसकेँ, आगामी दिनमा पनि यिनै लौरीको सहायताले धेरै काम गर्ने सोच बनाएको छु ।

लामो समयसम्म नलेखेर होला, सोचेजति केही लेख्‍न सकिनँ । मनको उकुसमुकुसलाई औँलाले पढ्नै सकेन जस्तो छ । त्यसैले आजका लागि यति भन्नु नै बुद्धिमानी ठान्दैछु । तिम्रो जन्मदिनमा अरु केही दिनलाई नसके पनि शब्दका केही थुङ्गा दिनेछु भन्ने सोच बनाएको थिएँ त्यो पनि तिमीले अपेक्षा गरेको रूपमा दिन असमर्थ भएँ क्यार । त्यसका लागि क्षमा माग्दै यो पालीका लागि बिदा चाहान्छु । अर्को वर्ष भने पक्कै शब्द अनि औँलाले साथ देलान् कि ?

उही -
तिम्री लेखिका

0 टिप्पणी:

Post a Comment

विचार मन्थन गरेर लेख्‍नुहोस् ---

 
◄Design by Pocket, BlogBulk Blogger Templates