Saturday, February 14, 2009

पुस्तकले देखाएको गोरेटो

Saturday, February 14, 2009 13
विशेषगरी उपन्यासबाट म पढाइको असली मज्जा पाउँछु । स्कुल पढ्दा सर, मिस अनि आफूभन्दा ठूला दाजु-दिदीले कुरा गरेको सुन्दा उपन्यास पढ्ने रहर औधी जाग्ने गर्थ्यो । तर त्यसताका स्कुलका भुराभुरीले उपन्यास पढ्नुहुँदैन, यसले दिमागलाई कोर्सबुकको पढाइबाट अन्यत्र भुट्छ भन्थे । त्यसैले मन भएर पनि मेरो दादा र म केही बालपत्रिकाहरूको सीमित घेरोमै आफ्नो अध्ययनशीलतालाई खुम्च्याउन विवश थियौँ । अध्ययनको धुन कस्तो थियो भने, स्कूलका कोर्सका किताबहरू किनेर ल्याएको दिन नै त्यसमा भएका कथा-कुथुङ्ग्रीहरू पढिसक्थेँ ।
स्कुले बेलादेखिको उपन्यास पढ्ने तिर्खा भने मैले एसएलसी दिएपछि नै मेट्न पाएँ । १२ मा पढ्ने छिमेककी साथीको पाठ्यक्रमका पुस्तकहरू माइतीघरमसान नाटक मागिल्याएर पढेँ । स्कुलमा स-साना पाठहरू मात्र पढ्दै आएको कारण सुरुमा त त्यत्रा सिनित्तै पुस्तक कसरी पढ्ने भनेर म आत्तिएँ । तर पढ्न थालेपछि दुई दिनमै दुवै पुस्तक पढिछिचोल्दा अनौठो आनन्द मिल्यो । त्यस बेलाका चर्चित र मैले थाहा पाएसम्मका सुम्निमा, तीन घुम्ती, नरेन्द्र दाइ, मोदिआइन, शिरीषको फूल, पागल बस्तीलगायतका उपन्यास पढेँ । पुस्तक पढेर सकेपछि त्यसैको वरिपरि घोत्लिँदा पनि पुस्तक पढिरहेजस्तै आनन्द आउँछ । यो सायद पठनकै अर्को चरण होला ।

धेरैजसो पुस्तक पढेपछि नयाँ ऊर्जा पाएजस्तो लाग्छ । सुस्ताएको मनलाई पनि चार्ज गर्ने तागत तिनमा हुन्छ । नेपाली साहित्यबाट झाङ्गिँदै विश्वसाहित्यको भन्डारमा पस्दा सुरुवाती क्रममा नेपालीमा अनूदित पुस्तकहरू पढेँ । त्यसबेलामा गोर्कीको आमा, भिक्टर हृयुगोको न्याट्रेड्यामको कुम्वे, पाउलो कोयल्होको द अल्केमिस्ट, पर्ल वकको कल्याणी धर्ती, हर्मन हेस्सेको सिद्धार्थ लगायतका पुस्तक पढेँ । 'सिद्धार्थ'बाट सांसारिक जीवनको खुला परिवेशमा रहेर पनि बुद्घत्त्वसमान ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने दर्शन पाएँ । कतिपय पुस्तकको नेपाली अनुवाद चित्त नबुझेर अङ्ग्रेजीमै खोजेर पनि पढ्नुपर्‍यो । विदेशी साहित्यकारमा पाउलोको पुस्तक सकेसम्म छाडि्दनँ । उनको द अल्केमिस्ट सबैभन्दा मन पर्‍यो । यसले मलाई लक्ष्य सामुन्नेमै घुमिरहेको छ भन्ने सोच भर्दै त्यसलाई धैर्य गरेर पर्खन सिकाएको छ । पाउलोकै फिफ्थ माउन्टेनमा युद्घले तहसनहस संरचनालाई केही व्यक्ति मिलेर पुनः निर्माण गरेको उज्यालो सम्भावनाको कथा छ । उनका प्रायशः कृतिले जीवनप्रति आशा जगाउँछन् । सपना साकार पार्ने पाठशाला भन्दा बढ्ता हुँदैन पाउलोका पुस्तकहरू ।

उमेरको परिर्वतनसँगै मानिसका सोचाइहरू परिर्वतन भए अनुरुप पुस्तकको छनोटमा पनि यस्तो कुराले निकै महत्त्वपूर्ण भूमिका खेल्छ । साथै आफू हुर्किरहेको वातावरणले पनि आफूले पढ्ने पुस्तकमा धेरै प्रभाव पारिरहेको हुन्छ । पहिले-पहिले निबन्ध भनेपछि टाढा भाग्ने म साथीहरूकै प्रभावले निबन्धहरू पनि पढ्न थालेकी छु । यसहपाठीहरू स्मीता पौडेल, गुरु रेग्मी र शिशिर शर्माको पढन्ते टोलीमा पुस्तकहरू साटफेर गर्दै पढ्ने र कुनै नयाँ पुस्तक आयो कि त छिटछिटो पढिसिध्याएर आपसमा बाँडीचुँडी गर्ने हतारका ती दिनहरू बिर्सिनसक्नुको छ । पहिले-पहिले निबन्ध भनेपछि टाढा भाग्ने म साथीहरूकै प्रभावले निबन्धहरू पनि पढ्न थालेकी छु । पाँच/छ वर्षअघि पढेको शङ्कर लामिछानेको एब्स्ट्राक्ट चिन्तन: प्याज किताबले निबन्धको पठनमा आकर्षण थपिदियो । आत्मपरकताभित्र विषयवस्तुको तिक्खर चेत मैले निबन्धमा खोज्ने गुहृय कुरा हो । यस्ता पुस्तकले आफूलाई बुझ्न र जीवनप्रतिको दृष्टिकोण बनाएर जिउन सघाउने रहेछन् ।
उपन्यासको संसारमा फैलिँदा धच गोतामेको घामका पाइलाहरू, ध्रुवचन्द्र गौतमको अलिखित, गोविन्दराज भट्टराईको सुकरातका पाइलामुग्लानले निकै मोहनी लगाए । आख्यानले मनोरञ्जन मात्र दिन्छ भनिन्छ, तर आख्यानमा भएको कुरा बुझ्न सक्यो भने गैरआख्यानले दिनेजत्तिकै ज्ञान पाइन्छ । तर त्यस्तो गुदीकुरा सबै आख्यानहरूमा हुन्छन् भन्नु सबै गैरआख्यान कृति विशिष्ट हुन्छन् भन्नुबराबर अन्धोको हात्तीछमाइ हुन्छ । पहिलोपल्ट नै कृष्ण धराबासीको झोला कथाले अमिट छाप छाडेको हुनाले उनका पुस्तक सकेसम्म छाडेको छैन ।
पछिल्लो चरणमा पढेको सञ्जीव उप्रेतीको घनचक्कर सामाजिक-राजनीतिक सूक्ष्मता छामेको नौलो उपन्यास भईकन अधुरो पुस्तक हो जस्तो लाग्छ । पुस्तकभरि खोजैखोजको प्रसङ्ग आएर पनि पात्रको खोजीको ठोस कुरा के हो नखुलेको हुँदा पुस्तक अधुरो लाग्यो । विमोचन भएको पर्सिपल्ट नै पढेर सकेको नारायण वाग्लेको पल्पसा क्याफे र पाँच-छ दिनपछि पढेको कर्ण शाक्यको सोच मेरो पहिलो सही छनोट थियो । यस्ता पुस्तक पढ्न बजारको हल्ला कुर्नुपर्दैन । गान्धीको सत्यके प्रयोग अथवा आत्मकथा अनि ओशोको मैं मृत्यु सिखाता हु पुस्तकले मलाई तरङ्गति बनाएका छन् । अहिले आएर म अध्यात्मिक पुस्तकहरू पढ्न थालेकी छु । अध्यात्मिक ज्ञान पाउँदै जाँदा पढिएका विविध पुस्तकहरूका सार समग्रमा उस्तै-उस्तै हो झैँ लाग्न थालेको छ ।

महायात्रा

रूखका हाँगामा नाचिरहेका
हरिया पहेँलिँदै गरेका पातहरू
जसमा प्रस्टसँग म
मेरो मृत्यु देखिरहेछु ।

बगैँचामा फुलेका
रङ्गीचङ्गी फूलसँगै
जीवन्त बनेको मेरो प्राण
ओइलाएर फूलसँगै झर्छ ।

मेरो प्राण बगैँचामा नाचिरहेछ
मेरो आँखासामु
प्रत्येक दिन
प्रत्येक क्षण,
तर पनि म अञ्जान बनिदिन्छु
अनि चिम्लिदिन्छु आँखा-
सूर्यलाई हत्केलाले छेकेजस्तै ।

जून हराएको बिहानमा
अनि सूर्य हराएको रातमा
म पनि हराउनेछु- मौन बतासमा ।

रूखका हाँगामा नाचिरहेका
हरिया पहेँलिँदै गरेका पातहरू
जसमा प्रस्टसँग म
मेरो मृत्यु देखिरहेछु ।

बैशाख २८, २०६५
(सानेपा, ललितपुर)

यस्तो एउटा सिर्जनात्मक विवाह...

विविधताले भरिएको हाम्रो नेपाली समाज । थरीथरी जातजाति । थरीथरी रिवाज र संस्कार । कतिपय नराम्रो संस्कार र कुरीति पनि जिउँदो-जाग्दो भएर हामीमाझमै बसेका छन्, त्यत्तिकै राम्रा थितिहरू पनि कति ओझेलमा परेका छन् त कति नासिएर गइसके । जन्मसंस्कारदेखि मृत्युसंस्कारसम्ममा मानवसमाजको आफ्नै निश्‍चित मापदण्ड रहिआएको छ । त्यसमध्ये जीवनमा गर्नैपर्ने कर्मकाण्डमा विवाहलाई लिने गरिन्छ । वैवाहिक संस्कार हाम्रो मुलुकमा जातजातिपिच्छे फरक किसिमबाट पूरा गरिन्छ । परम्परागत प्रचलन पनि आधुनिक समयमा आएर थोरै तोडमरोड हुँदै मनाइन थालिएको छ ।
चलनचल्तीको वैवाहिक उत्सवको परम्परालाई तोडेर रचनात्मक तवरले लगनगाँठो गाँस्ने जोडीहरू पछिल्लो समयमा निकै देखिएका छन् । यस्तै सिर्जनात्मक विवाह गर्ने जोडीमा पछिल्लो उदाहरण बनेका छन् शनिश्चरे मोरङका घनेन्द्र ओझा र छत्रेदेउराली धादिङकी राधा कँडेल । दुवैजना गजल विधामा समर्पित साहित्यप्रेमी । जीवनयात्रा गजलमय बनाइराख्न दुवै उत्तिकै रसिक रहँदै आएका छन् । त्यसैले आफ्नो विवाहको प्रीतिभोजमा मङ्सिर २३ गते (डिसेम्बर ८) सोमबार उनीहरूले आफ्नो संयुक्त गजलसङ्ग्रहको विमोचन गरे- 'बाटो अझै छ बाँकी' । कृतिमा दुवैको छानिएका राम्रा गजलसिर्जना समेटिएका छन् । ठूलो सङ्ख्यामा उपस्थित साहित्यप्रेमी तथा आफन्तको बीचमा दुवैले किताबमार्फत साथसाथ जीवनको साउती गरे । चार वर्ष लामो प्रेमसम्बन्ध वैवाहिक नातामा त गाँसियो, यही साइतमा अब उनीहरू भन्दैछन् - सहयात्राको बाटो अझै बाँकी छ है, ल सँगै हिँडौँ... ।
विवाह - दुई आत्माको मिलन । दुई जना भएपछि जस्तोसुकै कुरा पनि समाधान गर्न सकिन्छ भन्ने सोचले धेरैले विवाह गर्ने गर्दछन् । कताकता यो अघोषित सम्झौताको सामाजिक रिवाज जस्तो लाग्छ । अर्थात् अर्कोप्रति भर पर्दै अस्तित्त्वलाई स्विकार्नु । सहज जीवनयापनमा एकअर्काको साथ खोज्दै सामाजिक चक्रलाई निरन्तरता दिन वैवाहिक जोडीहरू अग्रसर हुन्छन् । यसका साथै, परिवारबीचको आत्मिक सम्बन्धकालागि पनि विवाहलाई लिइन्छ । विवाहले सम्बन्ध विस्तारमा धेरै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तर यही विवाहलाई कसैले सम्पत्ति सङ्कलन गर्ने तथा आफ्नो सम्पत्ति प्रदर्शन गर्ने माध्यमका रूपमा पनि लिएका छन् । छोरा-छोरीको विवाह धुमधामले गरेर समाजमा आफ्नो 'ल्याकत' साबित गर्ने होडबाजी पहिलेदेखि नै चलिआएको छ । हुनेखानेले त सम्पत्तिमार्फत शक्तिप्रदर्शन गर्छन्, केही नहुनेले समेत ऋणपान गरेरै भए पनि 'महँगो' विवाह गराउने देखासिकी प्रवृत्ति हाम्रो समाजमा चौपट्टै मौलाएको छ । यस्तो कुसंस्कार हिजोआज कमजोर मानसिकताका मानिसहरूको खेती भएको छ ।
विवाहमा लिएको ऋण तिर्न नसकेर जिन्दगीभरि अरुकोमा काम गर्न बसेका धेरै उदाहरण नेपाली समाजमा अझै पनि छन् । तर अहिले आएर त्यो परम्परामा निकै उतारचढाव आएको छ । सम्पत्तिको प्रदर्शनभन्दा पनि कसरी सिर्जनात्मक अनि सबैलाई सजिलो हुने खालको विवाह गर्ने भन्ने भावनाको पनि विकास भैरहेको छ । यस्तो सोच विशेषतः आजका शिक्षित युवामा झ्याङ्गिदै गएको छ । त्यसैले विवाहका नयाँ-नयाँ शैली अहिले आएर देखिन थालेको छ । सामाजिक चेतना भएका केही मानिसहरूले सुरू गरेका यस्ता विवाह अरूकालागि पनि निकै प्रेरणादायी बनेका छन् ।
यस्ता सिर्जनशील जोडीहरूमा कोही कुनै कल्याणकारी संस्थालाई सहयोग गरेर विवाह गर्दैछन् । कोही प्रीतिभोज नगरी त्यसमा खर्च हुने पैसा सामाजिक समूहलाई दान दिएर सादा तर विशिष्ट मूल्यको विवाह गर्दैछन् । कोही सार्वजनिक चौकमा खुला रूपमा मञ्चमा भाषण गर्दै समाजका गन्यमान्य सदस्यहरूसँग आशीर्वाद लिएर विवाह गरिरहेका छन् । कोही आफ्नो विवाहको लागि घरमा लगाइने रङलाई चोक र चौतारोमा लगाएर समाज सेवायुक्त विवाह गरिरहेका छन् । कोही विवाहमा आशीर्वाद दिन आएका मानिसलाई खुवाइने प्रीतिभोज कुनै अनाथालय वा वृद्धाश्रमका बालबालिका र वृद्धवृद्धाहरूलाई खुवाएर आत्मसन्तुष्टि लिइरहेका छन् । यसरी सामाजिक जिम्मेवारीसँगै आफ्नो पारिवारिक जीवनलाई खुसियाली रूप दिने सिर्जनशील सोचमा आज कुनै कमी छैन ।
मानवीय सम्बन्धमा इन्धनको काम गर्ने आत्मिक प्रेमदेखि साहित्यप्रेमसम्मलाई एउटै बोली 'बाटो अझै छ बाँकी' गजलकिताबबाट पुष्टि गर्ने राधा र घनेन्द्रजस्तै जोडीले समाजमा नयाँ रङ थप्दैछन् । यो रङ सामाजिक शक्तिप्रदर्शनभन्दा बाहिरको रङ त हो नै, यही किरिङमिरिङ जेलिएको समाजलाई रचनात्मकताको छाप छोड्ने रङ पनि हो । छोराको विवाहमा आशीर्वाद दिन पूर्वी नेपालको इटहरीदेखि आउनुभएका घनेन्द्रका आमा-बुबा नै समारोहका प्रमुख अतिथि हुनुहुन्थ्यो । सबैलाई सम्बोधन गर्दै उहाँहरूले संयुक्त रुपमा उक्त संयुक्त गजलसङ्ग्रहको विमोचन गर्नुभयो । गजल विधामा लामो समयदेखि कलम चलाइरहेका रवि प्राञ्जल, देवी नेपाल जस्ता सर्जकले नव वर-वधुलाई आशीर्वाद र शुभ कामना दिँदै उनीहरूको सिर्जनात्मक कामको सराहना पनि गर्नुभयो । ती सिर्जनशील दुलहा-दुलहीलाई नयाँ शैलीको विवाहको लागि बधाईसहित सफल दाम्पत्य जीवनको लागि हाम्रो पनि मुरी मुरी शुभ कामना है !

सपनाको घर

लाई थाहा छ,
होइनौ तिमी मेरो,
अनि म तिम्रो

तर पनि तिम्रो यादले सताइहेछ
देख्‍न नपाएको तिम्रो त्यो हाँसो
सुन्न नपाएको तिम्रो बोलीले
झन् भुतुक्कै बनाउँछ ।

कस्तो होलाउ तिमी ?
के गर्दै होलाउ अहिले .....?
मेरो बारेमा त सोचिरहेका छैनौ .......?

ढक्ढक्याउन आइपुग्छौ तिमी
कल्पनाको ढोका
अनि ढोका थुनेर तिम्रो साम्राज्य सुरु हुन्छ,

हाम्रोलागि बनाएको घर
एक्कासि चम्किलो हुन्छ
तिमीलाई यो मन पर्ला ?
अहँ...... यो चाहिँ मन पर्ला
तिम्रो इच्छा-अनिच्छा मनभरि नाचिरहन्छन्
तिम्रो इच्छामै हराउँछु म
सपनाको घरमा तिमी खुसी-खुसी देखिन्छौ ।

तर हाम्रोलागि बनाएको सपनाको घर
एक्कासि गर्ल्याम्म ढल्छ
कहिल्यै नजोडिने गरी,
तरपनि तिम्रो माया मनबाट जाँदैन

इ: हेर,
अझै मसँगै छौ तिमी
अहिले पनि ।

साउन, २०६५ - सानेपा ।

सम्पादकलाई लेखिकाको पत्र

प्रिय सम्पादक,
लामो समय - झन्डै एक वर्षपछि, तिमीलाई यो पत्र लेख्दै छु । यो एक वर्षको लामो अन्तरालमा पत्र लेख्‍नकालागि प्रयास नगरेको पनि होइन तर समय र परिस्थितिको दासी हामी, हाम्रो वशमा के नै हुन्छ र ? अवरोधका विभिन्न तगारोले हामीलाई घेरिरहेकै हुन्छन् । त्यसैले लामो समयदेखि पत्र लेख्छु भन्दाभन्दै पनि पाइरहेको थिइनँ । तर आज तिम्रो जन्मदिन । तिमी मेरो सम्पादक, अनि म तिम्री लेखिका । तिम्रो जन्मदिनमा केही नलेखूँ ? त्यसैले औँलाहरू नचाउँदैछु, यो कालो किबोर्डमा ।

कसलाई थाहा, अर्को वर्ष तिम्रो जन्मदिनमा यसरी नै पत्र लेख्‍ने मौका मिल्ला या नमिल्ला… ।

आज तिम्रो जन्मदिन, फूलका गुच्छा नदिए पनि शब्दका गुच्छाहरू अवस्य पनि पायौ होला । पक्कै पनि आजको दिनमा तिमीले 'ह्याप्पी बर्थ डे' को भाकासँगै औपचारिकताको बतासमा बहकिएर मैनबत्ती निभाएनौ भन्ने आशा गर्छु । बिहानै दियो भने बालेको हुनुपर्छ, अँध्यारो बाटोलाई उज्यालो पार्न । तिमीलाई थाहा छ, मान्छेको औँसत आयु ६० वर्ष (नेपालको हकमा) मान्ने हो भने तिमीसँग अब ३६ वर्ष मात्र बाँकी छ । तिम्रो जन्मदिनको दिनमा पनि म तिमीप्रति कोमल हुन सकिरहेको छुइनँ । हुन त मैले तिमीलाई सुरुको दिनमा नै पत्रमार्फत माफी मागिसकेँ - म कोमल हृदयको छुइनँ भनेर ।

हरेक वर्ष रुखमा पालुवा पलाउँछन्, तर हरेक वर्ष पातको प्रकृति फरक-फरक हुन्छन् । पात पनि पलाउँछन्, पहेंलिन्छन् र झरेर तिनको ठाउँमा अर्को पात फेरिन्छन् । एउटै बोटमा पलाएका पातहरूमा पनि अनेक भिन्नता पाइन्छन् । हामी त मानिस, विवेक अनि आफ्नो छुट्टै धारणा भएका, हामी सबैबीचमा एकरुपता आउन सक्छ भनेर कसरी भन्न सकिएला र ? पातमा भएका रेशाजस्तै हामीबीचमा विचारको भिन्नता छ । त्यसैले त भिन्न-भिन्न अस्तित्वको विविध सुरमा हामी बाँचिरहेका छौँ, नत्र बाँच्नुको अर्थ नै के ? सबैको जीवनमा एउटा लक्ष्य हुन्छ । तर जाने बाटो र पुग्ने ठाँउ फरक-फरक । नत्र लक्ष्य बनाउनुको अर्थ नै के ?

यसअघिका वर्षमा जस्तै यो वर्ष पनि भदौ २१ गते आजको दिन परेको छ । अर्थात् तिम्रो जन्मदिनको घडी । तर यो भदौ २१ पोहोरको भदौ २१ होइन । त्यो २१ लाई तिमी ल्याउन सक्दैनौ । पोहोरका वर्षले ल्याएका धेरै कुरा तिमीलाई छाडेर गइसकेका छन् । कतिलाई तिमी आफैँले पनि छाडिरहेका छौँ । हेर त, आफ्नो वरपरको वातावरण धेरै परिवर्तन भएको छ । अर्को वर्ष आजको यो वातावरणमा घटबढ अवस्य हुनेछ ।

उमेरसँगै बढेको परिपक्वताले मान्छेका इच्छा, रहर, सोचाइ, जीवनप्रतिको दृष्टिकोण परिर्वतन पारिदिन्छ । हुन त तिमी मेरो सम्पादक, म त मात्र लेखिका । तर नजाने पनि आत्मीयतावश केही भनिहालूँ भन्ने मानवीय स्वाभावबाट टाढा जान नसकेर यति लेख्दैछु । बितेका वर्षलाई अवलोकन गर्दा धेरै दुःख, सुखका उकाली-ओरालीहरू आए होलान् । आफन्तका न्यानो स्पर्शले निधारका पसिना पुछिए होलान् । अनि तिनै आफन्तका पराई बोलीले आँखाका डिलबाट तप्‌तप् अनमोल आँसुका धारा पनि बगे होला । आँसु पुछिदिने हातका पर्खाइमा बसेका आँसु आँखाकै डिलमा सुके पनि होलान् । अनुभवका सम्पत्तिले भकारी निकै भरियो होला ।

चुनौतीसँग जुध्नु नै जीवनको रमाइलो पक्ष हो । सार्थक जीवनको उपमा हो । अनुभवलाई पैसामा किन्न सकिँदैन । आफूले सिकेका कुरा अरुलाई सिकाउन सकिँदैन । मेरी आमाले बताएका कुरा आज यसरी तिमीलाई भन्दैछु । यसलाई जीवनको मूल मन्त्रको रुपमा त लिन नसकिएला, तर पनि जीवनमा उकाली-ओराली गर्ने क्रममा परिआउँदा लौरीको काम भने पक्कै गर्नेछ । मैले पनि त मेरी आमाले सिकाएका यिनै सूत्रमय लौरीले धेरै जँघार तरिसकेँ, आगामी दिनमा पनि यिनै लौरीको सहायताले धेरै काम गर्ने सोच बनाएको छु ।

लामो समयसम्म नलेखेर होला, सोचेजति केही लेख्‍न सकिनँ । मनको उकुसमुकुसलाई औँलाले पढ्नै सकेन जस्तो छ । त्यसैले आजका लागि यति भन्नु नै बुद्धिमानी ठान्दैछु । तिम्रो जन्मदिनमा अरु केही दिनलाई नसके पनि शब्दका केही थुङ्गा दिनेछु भन्ने सोच बनाएको थिएँ त्यो पनि तिमीले अपेक्षा गरेको रूपमा दिन असमर्थ भएँ क्यार । त्यसका लागि क्षमा माग्दै यो पालीका लागि बिदा चाहान्छु । अर्को वर्ष भने पक्कै शब्द अनि औँलाले साथ देलान् कि ?

उही -
तिम्री लेखिका
 
◄Design by Pocket, BlogBulk Blogger Templates